Sunday, May 9, 2010

प्रचण्डलाई कार्यकर्ताको खुलापत्र

अध्यक्ष कमरेड,

छ दिन काठमाण्डुका सडकमा उफ्रिएपछि हल्का ज्वरो र रुघाखोकी बोकेर घर फर्किँदैछु। यतिबेला म चढेको बस त्रिशुली किनारै किनार गुडिरहेको छ र म तुहाइएको क्रान्तिको मलामी फर्किएको जस्तो अनुभव गरिरहेको छु। बसको घच्याकघुचुकमा म जे लेखिरहेको छु, त्यसलाई घर फर्केपछि त्यति काँटछाँट नगरी सन्चारमाध्यमहरुमा पठाउनेछु। किनभने घर पुगिसक्दा मनको आवेग केही चिसिइसकेको हुनसक्छ।

पार्टीले हडताल फिर्ता लिएपछि काठमाण्डुमा भएका हाम्रै पार्टीका पत्रकारले फेसबुकमा यस्तो लेखेछन् ‘जनविद्रोहको रिहर्सल सकियो, अव वास्तविकको तयारी’। उनी पार्टीको नीतिगत तहमा पहुँच भएका मान्छे हुन् जस्तो लाग्दैन, तर तपाईँहरुको कुरा पनि अब यही होला भन्ने अनुमान गर्न मलाई गाह्रो पर्दैन। कमरेड प्रचण्ड,

यो धोखा हो। क्रान्तिको नाममा पटक-पटक जनतालाई सडकमा उतार्ने र तिनका आँखामा खरानी छ्यापेर उही घर फर्काउनु समग्र विश्व कम्युनिष्ट आन्दोलन र जनता माथिको धोखा हो। हामीलाई भोकै र नांगा खुट्टा काठमाण्डुका सडकमा दुई चारदिन उफारेर पार्टीले उल्टो प्रतिक्रान्तिहरुलाई खितित्त हाँस्ने बनाइदिएको छ। मसँग अब जिल्ला फर्केर अहिलेका हाम्रा मूल शत्रु मानिएका एमाले/कांग्रेससँग आन्दोलनको धाक लगाउन सक्ने अवस्था रहेन। ६ दिन अघिसम्मका सर्वत्र विजेता हामीलाई पार्टीले पराजित गराइदिएको छ।

हामी सायद आफूभित्रको सैद्धान्तिक संक्रमणकालीन अवस्थाले गन्हाउँदै जान थालेका छौँ। सशस्त्र युद्धको बेलामा लक्ष्य प्राप्तिका लागि कहिलेकाहीँ प्रतिक्रान्तिकारीलाई र कुनै वर्ग शत्रुलाई पनि साथमा लिएर अर्को दुश्मन माथि हमला गर्नुपर्छ भन्ने सिकेको पार्टी नेतृत्वले खुला राजनीतिमा त्यही रणनीति सफल हुँदैन भन्ने कुरा बुझ्नुपर्ने हो। प्रतिक्रान्तिकारी, सामन्तवादी र विस्तारवादीको सामु घुँडा टेकेर पाएको कुर्सीले वास्तविक सत्ताको अधिकार दिँदैन भन्ने कुरा तपाईँलाई थाहा हुनुपर्ने हो। देशभित्र यथास्थितिवादी र प्रतिक्रियावादीहरुसँग गठबन्धन गर्ने र देश बाहिर साम्राज्यवादी/विस्तारवादीलाई फकाएर भए पनि सत्तामै चढ्न खोज्ने हो भने भोलिदेखि एमालेलाई खिसी गर्दै क्रान्तिको धाक धम्की देखाउन नैतिकताले दिँदैन।

कमरेड प्रचण्ड,
विश्वमा कतै पनि हुने कम्युनिष्ट जनविद्रोहलाई अन्तर्राष्ट्रिय समुदाय, खासगरी अमेरिका, भारत लगायतका देशहरुले हात फैलाएर स्वागत गर्ने छैनन्। चाहे जुनसुकै बहाना र तरिकामा गरिएका विद्रोह हुन्, त्यसरी सत्ता कब्जा गर्नेहरुले अन्तर्राष्ट्रिय नाकाबन्दीको सामना गर्नेछन् र तिनलाई असफल पार्न देशभित्रै र बाहिरबाट हुने असंख्य प्रहारहरुको सामना गर्नुपर्छ। तपाईहरुले यो कुरा नबुझेको त पक्कै होइन तर ब्यवहारले के देखाएको छ भने तपाईँहरु सडकमा जनता उतारेर (सायद आवश्यक परे हतियारसहित) सत्ता कब्जा गर्दा देशभित्र र बाहिर त्यसलाई महान शान्तिपूर्ण भन्दै स्वागत र अभिनन्दन गरिनेछ भन्ने सोचिरहनुभएको छ। मैले आज बुझेको महान यथार्थ यही हो, तपाईहरु हाम्रा वर्गशत्रुहरुको सामना गर्न डराइरहनुभएको छ। बाह्र बर्ष भन्दा बढी सशस्त्र युद्ध गर्दा कहिल्यै नडराएको हाम्रो पार्टी नेतृत्व अहिले चरा मुसाहरुसँग डराएको छ। मैले बुझेको छु, यो सत्ताको र शक्तिको लोभले तपाईँहरुमा पलाएको त्रास हो। यदि यही त्रास तपाईँहरुमा कायम रहन्छ भने हाम्रो नेतृत्व गर्न अब उप्रान्त तपाईहरु अक्षम हुनुभएको छ। हामी क्रान्तिको लागि तत्कालै बलिदान दिन तयार छौँ र त्यसैको लागि तपाईहरुको नेतृत्वको अपेक्षा गर्दछौँ। यदि तपाईहरु सक्नुहुन्न भने या त नेतृत्व सही हातमा सुम्पिनुहोस् नत्र हामीलाई यो पार्टीबाट आधिकारिक रुपमा मुक्त गर्नुहोस्, म दहीचिउरे पार्टीमा बसेर आफ्नो नेतृत्वले प्रतिक्रियावादीहरुको अगाडि दाँत ङिच्च पारेको हेर्न सक्दिन।

कमरेड प्रचण्ड,

मे १ मा काठमाण्डु ल्याइएका अधिकांश जनतालाई क्रान्तिको सपना देखाइएको थियो र तपाईँका ठेट कार्यकर्तालाई पर्‍यो भने बलिदानका लागि तयार हुन भनिएको थियो। ती जनता र कार्यकर्ता तपाईँप्रति रित्तो धारे हात फर्काउँदै फर्किएका छन् र तपाई आफ्नो लागि खनिएको खाल्डोलाई बिस्तारै गहिर्‍याउँदै हुनुहुन्छ। सिधै जनविद्रोहमा जानुपर्छ भनेर धम्क्याउने पार्टीका हार्डलाइनर र एक दशक अघिको एमाले पथबाट पतन नभई जनगणतन्त्रमा जानुपर्छ भन्ने सफ्टलाइनरको माझमा पार्टीको बाटो कुन हो भन्ने कुरा भन्न सक्नुहुन्न भने अलि दिन जनताको अगाडि नगएकै राम्रो होला। क्रान्तिको सपना देखाएर काठमाण्डुमा उतारिएका जनतालाई तपाईँले भारतसँग ब्ल्याकमेलिङ गर्न प्रयोग गर्नुभयो। तपाईको लक्ष्य क्रान्ति थिएन भन्ने कुरा आन्दोलनको पहिलो दिनका गानाबजानाले पुष्टि भइसकेको थियो, तैपनि आन्दोलनबाट यसै फिर्ता हुँदैनौ भन्ने तपाईँहरुका अभिव्यक्तिले अलिअलि आशा जगाइरहेकै थियो। बाहिर सुनिएका हल्लाहरुले भन्छन्, पार्टीले हडताल फिर्ता लिने र अहिलेका प्रधानमन्त्रीले दुई चार दिनमा राजीनामा दिने भन्ने गोप्य सहमति भएको छ भन्ने। तर मलाई मेरा पार्टी अध्यक्षको नेतृत्वमा गठन हुने सत्ताको भन्दा बढी चासो हाम्रा अर्का नेता राम कार्कीले नयाँ दिल्लीबाट के ल्याउनुभएको छ भन्ने कुरामा लागेको छ। हिजोसम्म हामीले उछित्तो काढेका तिनै प्रभुको निगाहबाट मेरा पार्टीका अध्यक्ष कुर्सीमा चढेको मेरा लागि सह्य हुनेछैन।

फेरि कार्यकर्ताकै माझ आउनुअघि म पार्टीको आधिकारिक धारणा के हो भन्ने कुरा विश्वासिलो ढंगले बुझ्न चाहन्छु। जनविद्रोह वा कुनै पनि स्वरुपको संसदीय पथ। हामी जनबिद्रोहका लागि लडेका हौँ, तैपनि पार्टीले संसदीय पथ स्वीकार्छ भने पनि हामी आफ्नो बाटोमा लाग्नेछौँ, ताकि अर्को पटक हाम्रा टाउका देखाएर कुनै शक्तिले अर्को प्रभुसँग ब्ल्याकमेलिङ नगरोस्। यदि जनविद्रोह नै पार्टीको आधिकारिक धारणा हो भने प्रतिक्रियावादीहरु, सामन्तवादीहरु र विदेशी दलालका सामु घुँडा टेकेर सत्ता खोज्ने आधार तपाईँलाई केले दियो भन्ने जवाफ चाहन्छु।

मलाई आफ्नो परिचय खुलाएर नेता बन्नु छैन। तर क्यान्टोनमेन्टमा र बाहिरका सेल्टरमा बसेका हामीहरु धेरै लामो समय प्रतीक्षा गर्न सक्दैनौ। हिजो सँगै युद्ध लडेका साथीहरु सेल्टरबाट भागेर विदेश गएको देख्दा सुन्दा हामीलाई एमाले र कांग्रेससँग जति रिस उठ्छ त्यो भन्दा बढी दिक्दारी तपाईँहरु प्रति लाग्छ। पटक पटक क्यान्टोनमेन्टमा तपाईँले सुनाएका पार्टीका नीतिहरु बाहिर सुनिने कुरा र पार्टीका देखिने गतिविधि भन्दा किन फरक हुन्छन्? यदि हामीले तपाईँहरुमाथि अविश्वास गर्न थाल्यौँ भने त्यो पार्टीको लागि र समग्र नेपाली क्रान्तिको लागि सबैभन्दा खतरनाक हुनेछ।

अध्यक्ष कमरेड,

आखिरमा यी सबै कुरा सन्चार माध्यममार्फत् ल्याउनुपरेकोमा क्षमा चाहन्छु। आफ्नो परिचय नखुलाउनका लागि मैले प्रविधिका यथेष्ट उपायहरु प्रयोग गरेको छु, ताकि भोलि पार्टीले यो पत्र लेख्‍ने को हो भनेर अनुसन्धान गर्ने प्रयास नगरोस्। म नेपाली जनताको मुक्ति र क्रान्तिको सपना बोकेको एकीकृत नेकपा माओवादीको कार्यकर्ता हुँ र पार्टीले नेपाली क्रान्तिमाथि गद्दारी नगरुन्जेल रहनेछु। तर म र हामीले जान्न चाहेको कुरा यत्ति हो, हाम्रो पार्टी अहिले कुन कित्तामा छ? जनविद्रोहका लागि यति धेरै आधार बनाएर पनि हामीलाई फेरि फिर्ता गरिनुको कारण के हो? अनि क्रान्तिका लागि डराउनेहरु पार्टीको नेतृत्वमा किन बसिरहेका छन्? अर्को पटक प्रशिक्षणको लागि आउनुअघि यी प्रश्नको जवाफ दिन तयार भएर आउनुहुनेछ भन्ने आशा गर्दछु।

लालसलाम!!

No comments:

Post a Comment