- अमृत खरेल 'शब्द'
ओठ खोल्यो भने
सत्य बोल्यो भने
यो देशमा
माओवादी भइन्छ,
साथी तिमी
सत्य बोल्छौ कि बोल्दैनौं
मलाई थाहा छैन
तर म सत्य बोल्ने
चेष्टा गरिरहन्छु ।
ठगेर लुटेर चुसेर
जसरी भएपनि
रेष्टुरेन्टमा डर्कान
सकिएन भने
यो देशमा
माओवादी भइन्छ
साथी तिमी सकिनसकी
रेष्टुरेन्ट धाइरहन्छौ कि धाउँदैनौं
मलाई मतलब छैन
तर म एक छाकमै
भोक टारेर भएपनि
दुईचार दिन
धर्मभीरुहरुको शब्दमा 'व्रत'
बसेरै भएपनि
एकै शब्द मात्र किन नहोस्
सत्य बोलिरहन्छु ।
धुस्राफुस्राहरुको चिच्याहट
अन्तर्मनको आवाज
नाराबाजी सुनेर
घरभित्रै लुक्न सकेन भने
ठूलाबडा हाकिम साबु मन्त्री र डोनरसामु
झुक्न सकेन भने
आवा चिठी टेलिफोन त परै जाओस्
दिल्ली र वासिङटनको मिसकल पाउनेबित्तिकै
भोकानांगाहरु विरुद्ध
दुई चारवटा भ्रम फुक्न सकेन भने
यो देशमा माओवादी भइन्छ,
साथी तिमी बेला अनुसार लुक्न झुक्न
र भ्रमहरु फुक्न
तयार छौ कि छैनौं
मलाई थाहा छैन
तर मेरो गर्दनमा ब्याट्रीबाट बोल्ने
गुडियाको जस्तो स्प्रिङ छैन
इशाराको भरमा झुक्न
मैले सिकेको छैन
लुकामारी खेल्न मालिकका अगाडि देखा पर्न
जनता देख्ता दूला पस्न
मैले जानेको छैन
जनतामाथि संगीन उध्याउनेहरुलाई शान्तिरक्षक देख्ने
चश्मा मैले लगाएको छैन
सोझासाझाविरुद्ध विष फुक्न मैले जानेको छैन ।
भित्री जतिसुकै कालो भएपनि
बाहिर सफेद पहिरनमा सजिएर
सेता चहकिला दाँत देखाएर
हास्य रसमा गाला च्यातेर
हाँस्न जानेन भने
आफ्नै आँगनमा तारबार जेलेर छिमेकीका पहरेदारहरुले
सुइँकुच्चा ठोक्न दिएको उर्दी मानेन भने
जतिसुकै नेपाली पढ, मैथिली पढ, नेपाल भाषा पढ,
भोजपुरीमा जतिसुकै गीत गाऊ, तामाङ सेलोमा जतिसुकै नाच तर
हिन्दी जानेन भने
यो देशमा माओवादी भइन्छ,
साथी तिमीले बलिउडका तानाबाना
केबुल टिभीका सिरियलबाटै किन नहोस्
हिन्दी सिक्यौ कि सिकेनौ
मलाई चासो छैन,
म बरु सांकेतिक भाषा सिकौंला
ब्रेल लिपिबाटै काम चलाउला
तर भो मलाई हिन्दी चाहिएको छैन ।
गोडामा खिल बिझेको छ भने
हातमा ठेला उठेको छ भने
निधारमा नाम्लोको डाम बसेको छ भने
कमिजका कलरमा पसिनाले मयल परेको छ भने
एक पाउ दालमोठमा
तीन पाउ चिउरा मिसाएर मुक्याउने गरेको छ भने
यो देशमा माओवादी भइन्छ,
बोल्दा दुईचार अंग्रेजी झोक्का मिसाउन जानेन भने
गम खाँदै निधारमा चश्मा सिउरेर सिलिङतिर हेर्दै
भूँइफुट्टा दुई चार दर्शन छाँट्न जानेन भने
बुद्धिकै भरमा जिउने नाममा डलर साट्न मानेन भनॆ
यो देशमा अनागरिक भइन्छ,
साथी तिम्रो के छ विचार
मलाई भन्नपर्दैन,
सडकभरि बाटोभरि फुटपाथभरि,
डाँडा पाखाभरि गाउँभरि शहरभरि,
अनि देशैभरि
आफूजस्तै तीन करोड अनागरिक देखेर
मलाई नागरिक हुनुको चाह छैन,
तिमीहरुले भन्ने गरेका माओवादी देखेर
मलाई गर्व छ,
भो मलाई तिमी जस्तो हुनु परेको छैन ।
२०६७/०१/२६
काठमाडौं ।
No comments:
Post a Comment